काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ। स्थानिय र सुरक्षाकर्मीबीच भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको हो।
तीन जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ। मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको मात्र पहिचान खुलेको छ।
सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच/पाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो। दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो।