काठमाडौं। बेलायती सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड एम्सको हत्या भएको छ। २५ वर्षीय सोमाली युवाले एम्सलाई लाई चर्चमा छुरा प्रहार गरी गम्भिर घाइते बनाएका थिए। छुरा प्रहारबाट गम्भीर भएका उनलाई अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेका हुन्।
चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसदमाथि हमला भएको बताइएको छ। प्रहरीले एम्सको हत्यालाई आतंकवादी हमलाको संज्ञा दिएको छ। त्यहाँको महानगरीय प्रहरीले यो इस्लामिक अतिवादीसँग जोडिएको आशंका गरेको छ।
प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ। ती व्यक्ति बेलायती नागरिक रहेको र प्रारम्भिक अनुसन्धानबाट उनी सोमाली रहेको खुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ती युवकले सांसद एम्समाथि किन हमला गरे भन्ने खुल्न सकेको छैन।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। एम्सको हत्यापछि गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई तत्काल सांसदहरुको सुरक्षा व्यवस्थाको समीक्षा गर्न आदेश दिएको छ।