काठमाडौं। रुकुम पश्चिममा स्थानिय युवा र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाइते भएका छन्। सदरमुकाम मुसिकोटस्थित बागबजारमा गएराति स्थानीय युवा र प्रहरीबीच झडप हुँदा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सातजना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ। बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
मुसिकोट नगरपालिका-१ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाबीच झडप भएको हो।
घटनामा संलग्न ६ जना युवालाई पक्राउ गरिएको र ४ जना भने फरार रहेको प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए।