काठमाडौं। भारतको दक्षिणी प्रदेश केरलामा बाढीमा परी कम्तिमा ६ जनाले जन गुमाएका छन्। शनिबारबाट शुरु भएको वर्षाका कारण आएको बाढीमा परी हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
कांग्रेस नेता तथा तिरुवनन्तपुरमका सांसद शशि थरुरका अनुसार इडुकी, पथनमथिट्टा, त्रिसुर र कोट्टयम जिल्ला बाढीबाट बढी प्रभावित छन्। दक्षिण पूर्वी अरब सागरमा न्यून चापीय रेखा विकसित हुँदा केरलामा बाढीको कहर सुरु भएको मौसम विभागले बताएको छ।
विभागका अनुसार केरला, कर्नाटक, तमिनाडु र पुडुचेरीमा आइतबार पनि भारी वर्षाको सम्भावना छ। बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ।
दुईवटा जिल्लामा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका ११ वटा टोलीसहित सेना परिचालन गरिएको छ। प्रदेशका राजस्व मन्त्री राजन केका अनुसार तिरुवनन्तपुरम र कोट्टयम जिल्लामा सेना परिचालन गरिएको हो।