काठमाडौं। पाकिस्तानका क्रिकेट टिमका कप्तानलाई भारतसंग हारे स्वदेश फर्कन नदिने चतावनी दिइएको छ। पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले टी २० विश्वकपमा टीमको प्रदर्शन राम्रो होस् भनी शुभकामना दिन प्रशंसकहरूलाई आग्रह गर्दा राहिल भट नामक एक व्यक्तिले धम्की दिँदै भारतसँग हारेमा घर फर्कन नदिने धम्की दिएका हुन्।
तर धेरै सुभेच्छुक र प्रशंसकले भने शुभकामना दिएका छन्। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदै छ। प्रतियोगिता युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुन लागेको हो। आजमले प्रतियोगिताप्रति उत्साहित हुँदै सुभेच्छुकहरुलाई सुभकामनाका लागी सामाजिक संजालमा पोष्ट गरेका थिए।
भारत र पाकिस्तानबीच टी २० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने छ। यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले प्रशंसकहरूमा धेरै उत्साह छ।
भारत र पाकिस्तानबीच विश्वकपमा पाँचपटक जम्काभेट हुँदा पाकिस्तान पाँचैपटक हारेको छ। विश्वकप प्रतियोगिताको पहिलो दिन आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुने तालिका छ। ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। यो पहिलो खेल ३ः४५ बजे सुरु हुनेछ।
त्यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ।