काठमाडौं। भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ। बाढीमा अझै केही हराइरहेको बीबीसीले जनाएको छ। बिबिसीका अनुसार बाढीपहिरोका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने सडक जलमग्न भएका छन्।
बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ। मौसम विज्ञान केन्द्र, उत्तराखण्डद्वारा रेकर्ड गरिएको आँकडाअनुसार यो उत्तराखण्डको कुमाउँ क्षेत्रमा पछिल्लो १२४ वर्षमा अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो।
मौसम विज्ञान केन्द्र, उत्तराखण्डका निर्देशक विक्रम सिंहले भने, ’पहिलो मौसम विज्ञान केन्द्र १८९७ मा नैनीताल जिल्लाको मुक्तेश्वरमा स्थापित भएको थियो। तबदेखि रेकर्ड गरिएको डाटाअनुसार, कुमाउँमा अधिकतम सेप्टेम्बर १८, १९१४ मा २४ घण्टाको अवधिमा २५४.५ मिलिमिटर वर्षा भएको थियो।
अहिले २४ घन्टामा मुक्तेश्वर मौसम विज्ञान केन्द्रले ३४०.८ मिमी वर्षा रेकर्ड गरेको छ। पर्यटकहरूको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखण्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तनलाई मुख्य कारण मानेका छन्।