काठमाडौं। पदयात्रामा गएका ४ विदेशीसहित १२ जना हुम्लाको उत्तरी नाम्खास्थित तुम्लिङमा फसेका छन्। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा गएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेको जनाइएको छ।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। हिमपातको कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध भएको छ।
असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका उनिहरुको पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम थियो। बुधबार मौसम सफा नभएको कारण उद्धार हुन नसकेको र उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।