काठमाडौं। भारतबाट ढुवानी हुने खाना पकाउने एलपी ग्यास विचबाटोबाटै चोरी हुने गरेको खुलासा भएको छ। विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने एलपी ग्याँस बीच बाटोमा बुलेटबाट सिधै सिलिण्डरमा भरी बिक्री गर्ने गरेको खुलासा भएको हो।
यस्तो कार्यमा संलग्न दुईजना चालक र व्यापारी रंगेहात पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो। इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिन्डरमा भरिरहेका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ग्याँस चोरी गरेर बेच्ने कार्यमा संलग्न स्थानीय व्यापारी ४३ वर्षीय भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन्। भारतबाट आएका दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेट नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक प्रकाश थापाले दुईवटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिन्डरहरु समेत लिएको जानकारी दिए। उनले भने, ‘सिलिन्डर भर्नका फलामको पातामा पाइप जोडिएको घरेलु उपकरण निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छ।
असुरक्षित र जोखिमपूर्ण तरिकाले बुलेटको खतरा लेखिएको बक्स खोलेर घरेलु उपकरण प्रयोगमा ग्याँस चोरी हुने गरेको प्रहरीले जनाएको छ। एउटा बुलेटबाट ८ देखि १० वटा सिलिन्डर चोरी गर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरी अनुसार अन्य ग्याँस बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएको छ।
प्रहरीले पाएको प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकहरुले कार्कीको पसलमा नियमित रुपमा ग्याँस बिक्री गर्ने गरेका थिए। उनीहरुले प्रति सिलिन्डर १ हजार रुपियाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपियाँमा उपभोक्तालाई बिक्री गर्ने गरेको खुलेको छ।