काठमाडौं। एएफसी यु-२३ एसियन कप छनोट अन्तरगत आज नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। ताजिकिस्तान भ्रमणमा रहेको नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यु-२३ टिमसँग मैत्रीपूर्ण खेल्न लागेको हो।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ। यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ।
छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ।