काठमाडौं। हैटीमा बन्धक बनाइएका १७ जना अमेरिकी क्रिष्ट्रियन मिसनरीलाई हत्या गर्ने धम्की दिइएको छ। हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मार्ने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभए बन्धकहरूलाई हत्या गर्ने चेतावनी दिएका छन्। ‘यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन्।
अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो।
अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो।
आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ।
हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ।