काठमाडौं। कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहतस्वरुप २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै घाइते भएकाहरुलाई नि:शुल्क उपचार गरिदिने भएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ, भने केही घाइते समेत भएका छन्।
विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना वीमाबाट प्राप्त हुने २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने जनाएको छ।
विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिञ्चाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्न मुख्यमन्त्री शाहीले निर्देशन समेत गरेका छन्। अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपुर्तिको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ।