काठमाडौं। बेमौसमी वर्षाले नेपालमा ठुलो जनधनको षति गरेको छ। यो वर्षाले मानिसको ज्यान मात्रै लिएको छैन। पाकेर भित्राउन ठिक्क परेको धानबाली नष्ट पारिदिएको छ। बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको रिपोर्ट सार्वजनिक भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको हो। जसहनुसार ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको हो।
वर्षाले विशेषगरी तीन प्रदेश प्रभावित भएको छ। सबैभन्दा बढी लुम्बिनी प्रदेशको ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ,भने यसबाट ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको प्रभावित ५५ हजार हेक्टर क्षेत्र मध्ये १८ हजार हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको छ भने यसबाट १ अर्ब ९१ करोड रुपैयाँ नोक्सान पुगेको मन्त्रालयले जनाएको छ। यता, प्रदेश नम्बर १ मा पनि सोही वर्षाले ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पारेको र सोबाट लगभग ८० करोड रुपैयाँ बराबरको नोक्सान हुन पुगेको मन्त्रालयले जनाएको छ।