काठमाडौं। सुर्खेतको सामुदायिक वनमा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगरस्थित कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे बम विस्फोट हुँदा घाँस काट्न गएका दुई दिदी-भाइ घाइते भएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ स्थायी घर भई सुर्खेतमा बस्ने २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।
उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। बम पुरानो भएको र बेवारिसे अवस्थामा भेटिएको उनले बताए। घाँस काट्दै जाँदा खुट्टाले अचानक बम छुँदा विस्फोट भएको प्रहरीले जनाएको छ।