काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निगमलाई डुबाएर निजी क्षेत्र पोस्न पल्केका कसैलाई पनि नछाड्ने बताएका छन्।
उनले आफ्नो स्वार्थको लागी निजी क्षेत्रसंग साँठगाँठ गरी निगमलाई डुबाउनेलाई कारवाहीको दायरमा ल्याउने भन्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय सुधारका साथै व्यवसायिक सुधारका लागि आफूले ‘एक्सन’ लिने बताएका हुन्।
मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले भने, ‘पर्यटन तथा हवाई क्षेत्रमा सुधार गर्नुपर्ने र अपरेशन गर्नुपर्ने धेरै कुरा देखेको छु। कहाँ के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ हामीलाई थाहा छ’ मन्त्री आलेले भने, ‘निगम जस्तो संस्था डुबाएर निजी क्षेत्र पोस्न लाग्नेहरुलाई अब छाडिन्न,त्यसको जरैदेखि अपरेशन चलाउँछौं ।’
मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको केही दिनभित्रै निगमको समस्या हल गरेको र नयाँ अध्यक्ष चयन गरेको बताए। यसअघि विमानस्थल निरिक्षणमा पुगेका मन्त्री आलेले जहाजले यात्रु छोडेको विषयमा एयरलाइनसंग जवाफ मागी उनिहरुको व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
हाल निगमका बिग्रिएका,त्यसै ह्याङ्गरमा थन्किएका जहाजहरूलाई पुन: मर्मत गरेर सञ्चालन गर्ने र अपुग खरिद गरेर भने पनि व्यवसाय अघि बढाउने आलेले बताए।