काठमाडौं। सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित रहेको मानव सेवा आश्रममै एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।
हरिवन नगरपालिका-१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको जनाइएको छ। मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्की आश्रम गएकी थिइन्।
केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकुमारीकी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए। सञ्चालक कार्कीले रेखाकुमारीकी दाई नवीन कार्कीलाई फोन गरेर ‘तपाईंको मानिस हामी राख्न सक्दैनौं, घर लैजानुस’ भनेर भनेको दाजु नविनले जनाए।
त्यसपछि घर आउँदा उनेको शरिरभर कुटपिट गरेको निलडाम र घाउ रहेको र संवेदनशील अंगमा पनि चोट रहेको उनले बताए। रेखाकुमारीकी परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले उजुरी लिन नमानेको उनिहरुको गुनासो छ।
आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन नमानेको उनिहरुको भनाई छ। त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले उजुरीमा उल्लेख गरेजस्तो घटना नदेखिएकोले उजुरी नलिएको बताए।