काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्। इजलास बहिस्कार गरेका न्यायाधीशहरु आजदेखि नियमित काममा फर्किने अपेक्षासहित प्रधानन्यायाधीश जबराले विभिन्न मुद्दाको पेशी तोकेका हुन्।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै २ हप्तादेखि इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले हिजो बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र हेरेका थिए।
न्यायालयको सुधार र प्रधानन्यायाधीश जबराले राजनीतिक नियुक्तिमा भागबण्डा खोजेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च बहिस्कार गर्दै आएका छन्। त्यस्तै नेपाल बार एशोसिएसन पनि एक हप्तादेखि आन्दोलनमा रहेको छ।
पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीश फोरम, नागरिक समाजले प्रधानन्यायाधीश जबराले न्यायालयलाई विकृत बनाएको भन्दै राजीनामा माग गरिरहेका छन्। न्यायालय विवादमा राजनीतिक दलहरु भने मौन रहेका छन्। प्रधानन्यायाधीश जबरा भने आफूले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने अडानमा छन्।