काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई निर्देशन समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाई सम्मानपत्र प्रदान गरे ।
सम्मानितका तर्फबाट नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू चेम्जोङले सरकारले सम्मान गरेपछि आफूहरु थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सम्मान र पुरस्कृत हुने उद्देश्यका साथ खेल प्रदर्शन गर्ने वाचा गरे ।
नेपाल, बङ्गलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।
यसअघि साफ यस वर्ष बङ्गलादेशमा आयोजना हुने तय थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बङ्गलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो ।
बङ्गलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलङ्काले साफ फुटबल आयोजना गर्न दावी गरेका छन् ।