बिहिवार, आश्विन १५ गते २०८३

दिल्लीमा वायु प्रदूषणले भयो यस्तो अवस्था, लकडाउन गर्न सुझाव

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। भारतमा वायु प्रदुषण बढेपछि लकडाउन गर्न सुझाव दिइएको छ। भारतीय सर्वोच्च अदालतले दिल्लीमा बढ्दो प्रदूषणलाई लिएर शनिबार सुनुवाइका क्रममा सरकारले दुई दिनको लकडाउनबारे विचार गर्नुपर्ने सुझाव दिएको हो।

भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशद्वय डि वाई चन्द्रचूडा र सूर्यकान्तको इजलासले उक्त सुझाव दिएको हो। अदालतले वायु प्रदूषणका कारण उत्पन्न हुने आपत्कालीन अवस्थासँग जुध्न गरिएका निर्णयबारे सोमबार जानकारी गराउन केन्द्र सरकारलाई निर्देशन दिएको छ। अर्को सुनुवाइ सोही दिन हुनेछ।

न्यायाधीशले पराल जलाउनुका साथै उद्योग, पटाका र धुलो दिल्लीमा प्रदूषणको कारण भएको बताए। 
सर्वोच्च अदालतले केन्द्रबाट वायुको गुणस्तर कसरी ५०० बाट कम्तीमा २०० अंकमा झार्न सकिन्छ भनेर दुवै सरकारलाई सोधेको छ।

नोभेम्बरमा सबैभन्दा बढी पराल जलाउने घटना आउने गरेका छन्। हावाहुरीसँगै परालको धुवाँ राजधानीसम्म पुग्ने क्रम जारी छ। प्रदूषणको कारक परालको धुवाँलाई पनि मानिएको छ। केही विज्ञहरूले भने अधिकांश वायु प्रदूषण सडक र छेउमा उडेको माटोका कारण हुने गरेको बताएका छन्।

दिल्ली-जयपुर राजमार्गमा सडकको दुबै छेउमा माटो छ। सवारीसाधन त्यो बाटो जाँदा धुलोको बादल बन्ने अवस्था छ। अधिकारीहरूका तर्फबाट राजमार्गको हेरचाह गर्ने एजेन्सीलाई पानी छर्कने र अन्य व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रदूषण नियन्त्रणका लागि सोमबार महत्वपूर्ण बैठक बस्दै छ। बैठकमा वातावरण लगायत धेरै विभागका अधिकारीहरू सहभागी हुनेछन्। बैठकमा यातायात विभाग र मेट्रो अधिकारीहरू पनि सहभागी हुनेछन्। गाडीको धुवाँ पनि प्रदूषणको प्रमुख कारक भएकाले सार्वजनिक यातायात प्रणालीमा मेट्रोबसको फ्रिक्वेन्सी बढाउन आवश्यक रहेको र यसका लागि यातायात विभाग र मेट्रोका अधिकारीहरूसँग छलफल गरिने अधिकारीको भनाइ छ।

आफ्नो सवारी साधन कम प्रयोग गर्न अनुरोध गरिएको छ। यसका लागि धेरैभन्दा धेरै बस कुदाउनुपर्छ र मेट्रोले पनि यो दिशामा कदम चाल्नुपर्ने आग्रह गरेका छन्। अझै एक साता स्थिति भयावह हुने बताइएको छ। मानिसलाई घरबाहिर ननिस्कन सल्लाह दिइएको छ।

हावाको गति १० देखि १२ किलोमिटर प्रतिघण्टा हुँदा प्रदूषित हावा पातलो हुँदै जान्छ र स्वच्छ हुन्छ। हाल दिल्लीमा हावाको गति प्रतिघण्टा २-३ किलोमिटर मात्रै छ। यस्तो अवस्थामा चिसो मौसममा बढ्ने शीतले झनै हावा गह्रुँगो बनाइदिन्छ र धुवाँले छेकिदिन्छ। शनिबार बिहान दिल्लीको वायुको गुणस्तर ४८४ थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार