काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकामा दुइृ समुदायबीच तनाव सृर्जना हुँदा निषेधाज्ञा नै जारी गर्नुपरेको छ। उपमहानगरपालिका - २० रूपैठामा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको छ। पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज केही उच्छृङ्खल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।’
स्थानीय प्रशासन ऐनबमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।
कार्तिक २४ गते मुस्लिम समुदायले हिन्दूलाई छठ मनाउन अबरोध गरेका थिए। सो क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो। हिन्दूहरुले छठ मनाउन नपाएपछि दुई समुदायबीच तनाव बढेको प्रशासनले जनाएको छ।