काठमाडौं। वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम गर्न आदेश दिएको छ। कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो।
केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषण मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ। प्रदूषण मामिलामै आगामी बुधबार पनि अदालतले निर्णय गर्ने बताइएको छ।
छिमेकी प्रान्तमा ऊर्जाका लागि पराल जलाउँदा पनि राष्ट्रिय राजधानी क्षेत्रमा १० प्रतिशतसम्म प्रदूषण बढ्ने गरेको सरकारी अधिकारीहरूले दाबी गरेका छन्। ७५ प्रतिशत प्रदूषण उद्योग, धुलो र सवारी साधनबाट निम्तिने गरेको उनीहरू बताउँछन्।
दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न लकडाउन गर्न तयार रहेको जनाएको छ। तर, यो कदम राष्ट्रिय राजधानी क्षेत्रभर लागू हुनुपर्ने जिकिर गरेको छ। भारतको राष्ट्रिय राजधानी क्षेत्रमा दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरू समेत समेटिएको छ।