काठमाडौं। नगरपालिकामा भएको अअनियमितताबारे प्रश्न उठाउँदा बैठककक्षबाट निकालिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन्। सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन्।
समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको भन्दै त्यसको जवाफ मागेका थिए। उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेका थिए।
तर उनि बैठककक्षबाटै निकालिए। बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए। निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो।
मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन्। वडा अध्यक्ष भण्डारीका अनुसार अनियमितताका कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत र एक जना इन्जिनियरले अख्तियारमा मुद्दा खेपिरहेका छन्। पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ। सोमबारको समीक्षा गोष्ठीमा वडा अध्यक्षलाई निकालेपछि नगर प्रमुख राईले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।