काठमाडौं। म्यान्माको सेनाले वरिष्ठ नेतृ आङ साङ सू चीलाई जेल पठाउने तयारी गरेको छ। म्यान्मारको सेनाले सू चीले सन् २०२० को चुनावका वेला सत्ताको दुरुपयोग गरी धाँधली गरेको आरोपमा अभियोग दर्ता गरेको छ।
सू चीलाई चुनावमा धाँधली र अनधिकृत कारबाही गरेको आरोप लगाइएको छ। म्यान्मारको सरकारी अखबार ग्लोबल न्यू लाइट अफ म्यान्माले उनलाई कैयौँ वर्ष कारावासको सजाय सुनाइने अनुमान गरिएको उल्लेख गरेको छ। गत साता सू चीकै दलका नेतालाई ९० र ७५ वर्ष जेल सजाय सुनाइएको थियो।
पूर्वराष्ट्रपति विन मिन्त र निर्वाचन आयोगका अध्यक्ष सहित १५ अन्य अधिकारीलाई पनि उक्त अभियोग लगाइएको छ।
तख्तापलटपछि सेनाले सू चीलाई हिरासतमा लिएको थियो। उनीविरुद्ध अवैध रूपमा वाकीटकी आयात गरेको, देशद्रोह र भ्रष्टाचार सहित कैयौँ आरोप लगाइएको छ।
सेनाले उनीविरुद्ध कोरोना प्रतिबन्ध उल्लंघन गरी प्रचार गरेको भन्दै मुद्दा चलाएको थियो। गत वर्षको कात्तिकमा भएको चुनावमा सू चीको नेशनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)ले पूर्ण बहुमत हासिल गरेको थियो। त्यसलगत्तै सेनाले भ्रष्टाचार आरोपमा उनलाई बर्खास्त गरी सैन्य शासन लागू गरेको थियो।
गत वर्ष माघमा सेनाले सत्ता कब्जा गरेपछि म्यान्मारमा प्रदर्शन भइरहेका छन्। प्रदर्शनमा हजारभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ भने सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन्। यसैगरी १० हजारभन्दा बढी व्यक्ति जेलमा छन्।