काठमाडौं। राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको जोर्डनले खेलाडीको लिंग जाँच गर्न माग गरेको छ। इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको हो।
गत सेप्टेम्बर २५ मा इरानले जोर्डनलाई पोनाल्टी सुटआउटमा ४–२ ले हराउँदा कोउदाईले दुई पेनाल्टी रोकेकी थिइन्। जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ ९एएफसी० सँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन्।
३२ वर्षीया जोरेह कोउदाईले यस विषयमा जोर्डनको फुटबल संघविरुद्ध मुद्दा हाल्ने बताएकी छन्।
कोउदाइले भनिन्, ‘म महिला हुँ। जोर्डनले धम्क्याउने काम गरिरहेको छ,’ टर्कीको पत्रिका हुरियेतसँगको कुराकानीमा उनले भनिन्, ‘म जोर्डनको फुटबल संघविरुद्ध मुद्दा हाल्छु।’
इरानी टोलीकी प्रशिक्षक मारयान इरानदूस्तले भने जोर्डनले हार स्वीकार गर्न नसकेको कारण बहाना खोजिरहेको बताइन्।