काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो।
आज पास भएको निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका बिहीबार नै कानुन मन्त्रालयमा पठाइने भएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो। नयाँ निर्देशिका लागू भएपछि सर्वोच्चका न्यायाधिशले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन्।
यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ। आइतबारबाट नियमित इजलास बस्ने तयारी गरिएको हो।
नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फर्किने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनाएका छन्।