काठमाडौं। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराले शुक्रबारका लागी १० इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन्। जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ।
शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ।
न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ। यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन्। आज जबराले आफूलाई भने इजलासमा राखेका छैनन्। यसैविच लामो समयदेखि असन्तुष्ट रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा बस्ने भएका छन्।
बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन्। न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन्।