काठमाडौं। सर्वोच्च अदालतका सबै न्यायाधीश नियमित इजलासमा फर्किएका छन्। सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि तोकेका प्राय: सबै इजलासमा मुद्दाको सुनुवाइ भएको छ। प्रधानन्यायाधीश जबराले आज आफूलाई बाहेक एउटा एकल र ९ वटा संयुक्त गरी १० वटा इजलास तोकेका थिए।
बिहीबार बसेको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्देशिका पारित गरेसँगै न्यायाधीशहरु काममा फर्किएका हुन्। नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरु इजलासमा बहस नगर्ने बताएका छन्। उनीहरुले आज पनि सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए।