आइतवार, श्रावण २४ गते २०८३

चट्याङबाट भारतको उत्तर प्रदेशमा ४२ को मृत्यु

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । भारतको उत्तर प्रदेशमा चट्याङको कारण ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ पनि परेको थियो ।

जसको कारण फरक-फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको समाचारमा उल्लेख छ ।

मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।  त्यस्तै प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ ।

फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ । त्यस्तै राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको बताए ।

यसैविच प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार÷चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथले तत्काल घटनास्थलमा पुगेर सहायता प्रदान गर्न र घाइते भएका मानिसहरुले उचित उपचार गर्न आदेश जारी गरेका छन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार