काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो।
यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ। सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो।
सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह–सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन्।
समितिमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ छन्। हाल राखेपको निमित्त सदस्य सचिवमा विष्णु ढकाल छन्।