काठमाडौं। सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ।विद्यालयमा ग्रेडिङ प्रणालीले शिक्षाको गुणस्तर खस्किएको भन्दै विद्यालय तहमा सिकाई उपलव्धीको न्युनतम अंकल्याउनै पर्ने व्यवस्था गर्न सुझाव दिएको हो ।
‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको हो।
हाल सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको छ।
यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था छ। कार्यदलले कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र दिन सुझाव दिएको छ । न्युनतम ३५ अंक तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्पिलिटेड’ भनेर उल्लेख नगर्न पनि सुझाव दिएको छ।
विद्यार्थीले आन्तरिक वा प्रयोगात्मकतर्फ सी र आवधिक वा सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गरी समग्रमा डी ग्रेड प्राप्त गर्न नसकेसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि नदिन उपयुक्त हुने कार्यदलको सुझाव छ।