काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल हुँदैछन्।
डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।
दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ। साविक उपविजेता समेत रहेको आर्मी यसपटक उपाधि जित्ने लक्ष्यका साथ लिग खेल्दैछ। यस्तै तीन पटकको विजेता पुलिस पनि सुदख सुरुआत गर्ने लक्ष्यमा छ।
विभागीय डर्बी भएकोले प्रतिष्ठाको लडाइसमेत हुनेछ। भरत खवासको कप्तानीमा रहेको आर्मीका फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण लिगमा खेल्न छैनन्। उनलाई प्रिसिजनमा घुँडामा चोट लागेको थियो।आर्मीले राष्ट्रिय टिमका पूर्वसदस्य जगजित श्रेष्ठलाई अनुबन्ध गरेको छ।
यस्तै टिममा जर्ज प्रिन्स कार्की, सेसहाङ आङदम्बे, दिनेश हेन्जन, विकेश कुथुलगायत खेलाडी छन्। उता पुलिसमा राष्ट्रिय टिमका तेज तामाङ, राष्ट्रिय टिमबाट खेलिसकेका रवि पासवानलगायत खेलाडीहरू छन्।
यस्तै २०७६ सालमा च्याम्पियन बनेको मछिन्द्रको एक मात्र लक्ष्य यस पटक उपाधि रक्षा गर्ने रहेको छ। त्यसका लागि एनआरटीसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। यो खेल अपराह्न ४ स् ४५ बजे दशरथ रंगशालमै सुरु हुनेछ।