काठमाडौं। रोहित शर्माले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानीमा नै आफू भारतीय कप्तान बन्ने बलियो दाबेदारी प्रस्तुत गरेका छन्। भारत र न्युजिल्यान्डबीचको टी-२० सिरिजमा भारतले शानदार प्रदर्शन गर्दै सिरिज ३-० ले कब्जा गर्यो।
न्युजिल्यान्डविरुद्ध भारतले पहिलो पटक घरेलु भूमिमा सिरिज क्लिन स्विप गरेको हो। यसअघि भारतीय भूमिमा दुई पटक न्युजिल्यान्डसँग प्रतिस्पर्धा हुँदा एक खेलमा न्युजिल्यान्ड तथा अर्को एक खेलमा भारत विजयी भएका थिए।
कोलकातामा भएको अन्तिम टी-२० खेलमा न्युजिल्यान्डलाई ७३ रनले हराउँदै भारतले सबै तीन खेलमा जित निकाल्यो। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १८४ रन बनाएको थियो।
कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाएका थिए। त्यस्तै इशान किशनले २९ रन बनाएका थिए। भारतलाई बलियो लक्ष्य दिने क्रममा नवौं नम्बरमा ब्याटिङका लागि आएका दिपक चाहरले ८ बलमा २१ रन बनाए। न्युजिल्यान्डका लागि मिचेल सेन्टनरले ३ विकेट लिए।
१८५ रनको लक्ष्य पछ्याएको किवी टीम भने फेरि एकपटक खराव ब्याटिङको सिकार भयो। उसले १७।२ ओभरमा केवल १११ रन बनाउँदा आफ्ना सम्पुर्ण विकेट गुमायो। न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकिय इनिङ खेल्नु बाहेक अन्य कुनैपनि खेलाडीको प्रदर्शन गतिलो रहेन।