काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि पनि पेसी तोकेका छन्। उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन्। सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन्।
अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन्। गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो।
तर उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन। प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ। प्रधानन्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन्।
न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो। कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ।