काठमाडौं। आइसिसी टी-२० महिला विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ। बिहिबार दुबईको आइसिसी एकेडेमीमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको छ।
कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले १ विकेटको क्षतिमा ३.३ ओभरमा पूरा गर्दै उत्कृष्ट जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई नेपालले १५.४ ओभरमा २७ रनमै अलआउट गरेको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन र इन्दू बर्माले नटआउट १३ रन जोडे।
रुबिनाले १० बलमा १ चौका हिर्काउँदा इन्दूले ८ बलमा १ चौका प्रहार गरिन्। सीता रानामगर भने शून्यमा आउट भइन्। कुवेतका लागि प्रियदा मुरलीले सबैभन्दा बढी १० रन जोडिन्। अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। कुवेतका ओपनर जीफा जिलानीसहित ६ जना ब्याटर शून्यमै आउट भएका थिए।
बलिङमा नेपालका संगिता राई र रुबिना क्षेत्रीले ३-३ विकेट लिए। करुणा भण्डारी र सरस्वती चौधरीले १–१ विकेट लिए। संगिताले १६ ओभरको पहिलो, तेस्रो र चौथो बलमा विकेट लिएकी थिइन्। उनले २.४ ओभरमा २ रन मात्र खर्चिइन्। रुबिनाले ४ ओभरमा २ मेडन राख्दा ३ रन दिइन्।
जितसँगै नेपालले ४ अंक जोडेर युएईसँग अंक बराबरी गरेको छ। अब भोलि मलेसिया र २८ नोभेम्बरमा युएईसँग खेल्नेछ।