काठमाडौं। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। सर्वोच्च अदालतमा न्यायाधीशहरुको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो।
सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बिच बिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो। पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ। गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो। उक्त माग पूरा हुने भएको छ।
न्यायाधीशहरूले गोलाप्रथा लागू भएपछि इजलासमा फर्किए पनि नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको कुनै विकल्प नभएको भन्दै आन्दोलन जारी राखेको छ।आज बारसहित नागरिक आन्दोलनले सर्वोच्चदेखी बालुवाटारसम्म न्याय मार्च समेत गरेको छ।