काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल युएईसंग ४८ रनले पराजित भएको छ। यो पराजयसंगै नेपालको ग्लोबल छनोटमा पुग्ने सपना सकिएको छ। ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो।
हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुगेको हो। ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ।
ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो।