नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वका लागी आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी-विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ ।
यस्तै भोलि दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संस्थापन र पौडेल–कोइराला समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । तर दुवै समूहले उम्मेदवारहरूको टुंगो भने अझै लगाउन सकेका छैनन् ।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले फेरि लड्ने निश्चित भए पनि अन्य पदाधिकारीमा को–को रहने भन्ने टुंगो लागेको छैन । आकांक्षी धेरै भएपछि देउवालाई टिम बनाउन सकस परिरहेको छ । यसैबीच देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहसँग मिलेर चुनावमा जाने तयारी गरेका छन् । सिटौलाले महामन्त्री र सहमहामन्त्री दिए देउवालाई सघाउन तयार हुने रणनीति लिएका छन् ।
देउवासँग सहमति भए सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सार्ने बुझिएको छ । तर सिटौलाको यो प्रस्तावबारे देउवाले अन्तिम निर्णय दिइनसकेको बताइएको छ । सिटौला समूहका केही नेताहरूले भने सहमति भइसकेको दाबी गरेका छन् ।
यता देउवालाई यसपटक जसरी पनि हराउने बताइरहेको संस्थापनइतर समूहले त झनै सभापतिको साझा उम्मेदवार नै छान्न सकेको छैन । यो समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडैलसहित नेताहरू शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह दाबेदार छन् ।
कोइराला दाजुभाइले पौडेललाई समर्थन गर्न सकिने संकेत गरे पनि नेता सिंह आफ्नो अडानबाट टसमस भएका छैनन् । सभापतिमा साझा उम्मेदवार दिन नसके अरु पदहरूमा भने प्यानल बनाएर अघि बढ्ने विकल्पबारे पनि पौडेल समूहमा छलफल चलिरहेको छ । तर नेताहरूले आज बिहानसम्म सभापतिको साझा उम्मेदवार चयन गर्ने दाबी गर्न भने छाडेका छैनन् । आज बिहान पनि यो समूहको बैठक बस्दैछ ।