काठमाडौं। कांग्रेस नेतृ सुजता कोइरालाले उप-सभापतिमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । उहाँले नेता प्रकाशमान सिंह प्यानलबाट उप-सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । प्रकाशमान सिंहको उम्मेदवारी घोषणा सभामा पुगेर नेतृ कोइरालाले सिंहको टिमबाट उपसभापति लड्ने घोषणा गर्नुभएको हो ।
सभापतिमा साझा उम्मेदवार दिन नसकेको पौडेल समूह फुटेसँगै कोइराला परिवारका नेताहरु पनि अलग–अलग प्यानलमा लागेका छन् । कोइराला परिवारबाट शशांक कोइराला र शेखर कोइराला सभापतिका आकांक्षी छन् । तर साझा उम्मेदवारमा सहमति नजुटेपछि पौडेल समूहसँगै कोइराला परिवारका नेताहरू पनि तितरवितर भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवार नभए आफूले उम्मेदवारी नदिने बताइसक्नु भएको छ । पौडेल समूहबाट अब शशांक र शेखरमध्ये एक जना सभापतिको उम्मेदवार हुने चर्चा छ । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार चयन हुन नसकेपछि इतर समुहमा रहेका नेताहरु आ–आफ्नो प्यानलमा उम्मेदवारी मनोनयन दर्ता गर्ने तयारीमा लागेका छन् ।