काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आजबाट सुरु हुने भएको छ । सभापति पदको नतिजा सार्वजनिक भएसँगै आज साँझबाट अन्य पदको मतगणना गर्न लागिएको कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ ।
मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो । पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिनुभयो । १३ पदाधिकारीमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ ।
उपसभापतिमा देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उमेदवार हुनुहुन्छ । प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला, विमलेन्द्र निधिको प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार बन्नु भएको छ भने उपसभापतिमा महेश आचार्यले पनि उम्मेदवारी दिनुभएको छ ।
महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा उमेदवार हुनुहुन्छ । त्यस्तै सिंहको प्यालनबाट विश्वप्रकाश शर्मा, निधिको प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिनु भएको छ । कांग्रेसको महाधिवेशनबाट चयन हुने १३४ पदका लागि ४८७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख छ।