काठमाडौं। नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरुलाई जिम्मेवारी तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ । उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा तथा उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमनको जिम्मेवारी तोकिएको एमालेले जारी गरेको अपानीमा उल्लेख छ ।
यस्तै महासचिव शंकर पोखरेललाई सांगठनिक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
यस्तै पार्टी सचिवहरु टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गोकर्ण विष्टलाई ऊर्जा विभाग, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी एमालेले दिएको छ । नेता घनश्याम भुसाललाई अर्थ तथा योजना विभाग र मणि थापालाई भूमि व्यवस्था विभागको जिम्मेवारी दिइएको छ ।