काठमाडौं। नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूह विभाजन गरि सञ्चालन गर्ने जनाएको छ। जस अन्तर्गत समूह ‘ए’ मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन्, भने समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन्।
यस्तै समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन्। चार समूहका विजेताहरू सेमिफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहको विश्वास छ।नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका भएको बताए।