काठमाडौं। सरकार गठनका लागि दिनगिन्ती सुरु भएसंगै दलहरुले अनौपचारिक छलफललाई तीव्रता दिएका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा सत्ता समीकरण, रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश र विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
त्यसअघि आजै माओवादी अध्यक्ष प्रचण्ड र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको थियो । बिहान खुमलटारस्थित प्रचण्डनिवासमा दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको हो ।
भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ । भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ ।
सरकार निर्माणका बिषयमा गठबनधनले बहुमत जुटाएकाले एमाले ‘पर्ख र हेर’को अवस्थामा छ । एमालेसंग समीकरण बनाउनका लागि माओवादी र कांग्रेस दुबैले छलफल बढाएको चर्चा पनि चुलिएको छ ।
माओवादीले पहिलो प्राथमिकता सत्ता गठबन्धनलाई नै दिने तर कांग्रेस सहमतिमा नआए एमालेलाई साथ लिएर अगाडि बढ्ने तयारीसमेत गरेको बुझिएको छ ।
एमाले नेताहरुले भने सत्ता गठबन्धने नयाँ सरकार गठन गर्न नसके देशलाई अर्को निर्वाचनमा धकेल्नबाट रोक्नका लागि आफ्नै नेतृत्वमा पहल गर्ने समेत बताईसकेका छन् । निर्वाचनमा सोचेजस्तो नतिजा नआएपछि युवा नेताहरू विपक्षमा बस्नु पर्ने बताइरहँदा अध्यक्ष प्रचण्ड भने आफू प्रधानमन्त्री हुन लविङ गरिरहेका छन् ।
जसले प्रचण्डलाई प्रधानमन्त्रीको स्वीकार गर्छ उतै लाग्ने माओवादीको तत्कालीन रणनीतिले देखाएको छ । केही दिन अगाडि गोरखा पुगेर प्रचण्डले छिट्टै आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका थिए।