चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा नराख्ने बताएका छन्।
सोमबार बिहानै चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा आफू प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा नराख्ने बताएका हुन्। ‘स्वभाविक रुपमा सबैसँग छलफल चलिरखेका छ। तर म प्रधानमन्त्रीका लागि सबै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले भने। यसअघि धेरै नेताहरुलाई आफूले प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताए।
अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए।
‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ। अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन।’