शुक्रवार, आश्विन २३ गते २०८३

रामचन्द्र र प्रचण्डबीच भेट, प्रचण्डले छाडेनन् अडान

शनिवार , पौष ९, २०७९

काठमाडौं। नयाँ सरकार गठनबारे समीकरण बनाउन नेताहरुको दैडधूप बढेको छ ।

नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेका छन्। वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलो ‘लट’मा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडानमा देखिएका प्रचण्डसँग छलफल गर्न कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार बिहान खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि कांग्रेस नेता पौडेल र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो । नेता पौडेलसंग पनि प्रचण्डले आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान यथावत् राखे।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बालुवाटारमा केहीबेरपछि सत्ता गठबन्धनको बैठक बस्दैछ । यसअघि हिजो बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो । 

सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो दल नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन ।

नयाँ सरकार कसले पहिले आफूले नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा नमिल्दा सहमति जुट्न नसकेको हो ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि भोलि बेलुकी ५ बजेसम्मको समय दिएकि छिन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार