काठमाडौं। भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रुपमा थप आयोजनाहरुलाई अनुमति दिइरहेको बताए। नदीको सहत घटेका कारण ततकाल भारतमा बिजुली निर्यात गर्न नसकिएपनि आगामी वर्षायामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।
चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको छ भने खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको छ । गत १९ जेठदेखि ३ पुससम्ममा प्रधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको थियो ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ (६ अर्ब ९७ करोड ६९ लाख भारु) आर्जन गरेको छ । सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो ।
त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो ।