काठमाडौं। साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो ।
सोमबार नेप्से १७.५६ अंकले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा उत्पादनमूलक र अन्य उपसूचकमा गिरावट हुँदा पनि नेप्से दोहोरो अंकले बढेको हो ।
उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ ।
सोमबार नेप्सेमा वृद्धि भएपनि हिँजोको तुलनामा कारोबार रकम भने घटेको छ । हिँजो तीव्र उतारचढाव हुँदा नेप्से १७.२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो ।
आज बजारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजारको कारोबार भएको छ । सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ ।