आइतवार, श्रावण २४ गते २०८३
कविता

साउने संक्रान्ति (लूतोफाल्ने दिवस)

शुक्रवार , श्रावण १, २०७८

खेतको रोपाइँ मैजारो गरी असार भरीमा,
खुशीले नाच्दै साउनको पहिलो दिनको झरीमा ।
बालक बेला भोक न प्यास डुलिन्थ्यो वनमा,
लूतोलाई फाल्न चाहिने चीज संझेर मनमा ।।

कुकुरडाइनो, भलायो अनि कुरिलो खोजेर,
ल्याउँथ्यौँ घर अनेक नया फलफूल रोजेर ।
तुलसी मोठ अगाडी चोखो माटोले लिपेर,
पूजाको लागि अक्षेतासंगै फूलपाती टिपेर ।।

भ्यागुतो गर्थ्यो ट्वार्र र टुर्र करेसा बारीमा,
झ्याउँकिरी बास्थ्यो संगीत भरी बाँसको घारीमा ।।
साँझको बेला दाउरा ल्याई आगनमा बालिन्थ्यो,
लूतोको नाउँमा अगुल्टो घुमाई जोडले फालिन्थ्यो ।।

रोपाईँ पछि हिलो र मैलो पखालून् भनेर,
पूर्खाले थाले यो राम्रो चलन बुद्धिले गमेर ।
छोडियो गाउँ, म कहाँ जाऊँ यी कुरा पाउन,
बाउसे गर्दै रोपाहारसंग असारे गाउन ।।

हलो र फाली, खेतका आली भएछ विरानो,
मेला र पर्म, लेक र बेसी भएछ पुरानो ।
शहर पस्यौं, न खेत रोप्छौं, न लूतो फाल्दछौं,
उहिलेको कुरा संझना गरी कहानी हाल्दछौं ।।

दुवाडी नेपाल सरकारका उच्चपदस्त निजामति कर्मचारी हुनुहुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार