काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन दाङ-देउखुरी पुगेका बेला पत्रकार भेटघाटमा राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे नखुलेका नेपालले त्यसबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले मिडियामा आएका सबै कुरा सत्य नहुने पनि बताए। यसबारे हतारमा केही नबोल्ने बताउँदै उहाँले पर्दा पछाडीका कुरा पर्दा पछाडीनै रहन दिनुपर्ने उनको भनाई थियो ।
प्रतिनिधि सभा निर्वाचन अगाडि आफ्नो पार्टीलाई राष्ट्रपति उम्मेदवार दिन कांग्रेस र माओवादी सहमत भएको बताउँदै उनले त्यसै अनुसार सम्मानित नेता झलनाथ खनाललाई अघि सारेको जानकारी दिए।
तर, खनाल निर्वाचनमा पराजित भएकाले विभिन्न नाममा छलफल भइरहेको बताए।