काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।
धुम्बाराहीस्थित देउवा निवासमा बुधबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गरेका हुन् ।
‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमतिको प्रस्ताव ल्याउनुभएको छ । तर अहिले कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई एमालेले नसघाउने, एमालेले प्रस्ताव गरेको व्यक्तिलाई कांग्रेसले समर्थन गर्न नसक्ने अवस्था छ,’ कांग्रेस नेताहरूसँग भेटपछि नेता सर्वेन्द्रनाथ शुक्लले भने, ‘हामीले एमाले र कांग्रेससहित सबै दललाई सहज हुने गरी हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरजीलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हौँ । उहाँको व्यक्तित्व, योगदानलगायत सबै कुराले उहाँ उपयुक्त हुनुहुन्छ ।’