काठमाडौं। सर्वोच्च अदालत प्रधानन्यायाधीश विहीन बनेको बिषयले संसदमा पनि प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्कालीन नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
‘हामी कस्तो लोकतन्त्रको कल्पना गरिरहेका छौं। लामो समयसम्म प्रधानन्यायाधीश नियुक्ति हुँदैन अनि अन्तिममा प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय गरिन्छ,’ उनले भने, ‘सरकार र दल सार्वभौम भएर लोकतन्त्र जोगिन्छ। प्रधानन्यायाधीशले न्याय पाएको छैन। विगतमा पनि न्यायपालिकालाई तर्साएर आफ्नो गल्ती रोक्न खोजिएको थियो। अहिले पनि न्यायालय कमजोर पार्ने कार्य भइरहेको छ।’
लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुपर्ने हो? भन्दै प्रश्न उठाए। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिबारे प्रश्न उठाएका हुन्।