प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ।
परराष्ट्रमन्त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आइतबार बेलुका जेनेभा जाने तयारी थियो। तर, प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका हुन् ।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।
मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् । उनले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताएकी थिइन् ।
मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जानेछन् ।
पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकि थिइन्। राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने स्रोतले बताएको छ।
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो जेनेभा भ्रमण रोक्न कसैबाट निर्देशन नआएको बताउनुभएको थियो । राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपनि एमाले सरकारबाट बाहिरिएको छैन। राप्रपाले भने हिजो नै सरकार छाडिसकेको छ।